संस्मरण-- सिलगढ़ीमा नारायण गोपाल सङ्गीतमय साँझ





                                                 * रुपेन कोरम्जने‘‘आर्को’’
     वर्ष १९८९ को १६ अनि १७ जनवरी महीना ।  सिलगढ़ीको तथ्य केन्द्रको दीनवन्धु मञ्चमा नेपाली सङ्गीत जगतका चिरहरित गायक ‘‘नारायण गोपाल सङ्गीतमय साँझ’’को आयोजना गरिएको थियो । सिलगढ़ीको हैदर पाड़ा क्षेत्रमा सञ्चालित ‘‘जागृति युवा सङ्घ’’को ब्यानरमा उक्त कार्यक्रमको आयोजना गरिएको भए तापनि त्यसका प्रमुख आयोजक थिए उत्तिखेरका सक्रिय सामाजिक कार्यकर्ता तथा  आजभोलि दैनिकका मालिक पत्रकार राजेश भट्टराई ।  उनको उद्देश्य के थियो भने विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई सिलगढ़ी ल्याएर विशेष कार्यक्रमको माध्यमबाट यहाँका मानिसहरूसित साक्षात्कार गराउनु ।  त्यही  भएर  राजेश भट्टराई दुइ पटक छिमेकी मुलुक नेपालको राजधानी काठमाण्डु गएर नारायण गोपालको घर गई सङ्गीतमय साँझको लागि राजी गराएर आएका थिए । यो कार्यक्रम गर्नुको अर्को उद्देश्य के थियो गोर्खा शिवालयको वरिपरी ईंटा अनि सिमेन्टद्वारा बारबेर गर्नु ।   

       कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।  मानिसहरू नारायण गोपालको कार्यक्रम प्रत्यक्ष हेर्न दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक मात्र नभई आसाम अनि अरू-अरू ठाउँहरूबाट पनि ओइरिएका थिए ।  कार्यक्रम दुइ दिन राखिएको थियो ।  भवनमा सातसय मात्र आँट्ने ठाउँ थियो ।  तर त्यो भन्दा बढ़ी मानिसहरू आएकाले अरूलाई भित्र पस्नै दिइएन ।  पुलिशलाई स्थिति सम्हाल्नै गाह्रो भइरहेको थियो । अन्त्यमा राजेश भट्टराई, पुलिश, हल म्यानेजमेन्ट अनि आयोजक समितिको तत्कालीन बैठक गरेर बाहिर भएका नारायण गोपालप्रेमी मानिसहरूलाई उभ्याएर कार्यक्रम हेर्न दिने व्यवस्था मिलाइयो । 
        त्यस हलमा पहिलोपटक भव्यरुपमा नेपाली सांस्कृतिक कार्यक्रम त्यतिखेरको ‘‘कटुवाल नाट्य निकेतन’’  वर्तमान ‘‘हरिभक्त कटुवाल प्रतिष्ठान’’ले आयोजना गरेको थियो भने दोस्रो पटक त्योभन्दा भव्य कार्यक्रम ‘‘जागृति युवा सङ्घ’’को तत्वावधानमा ‘‘नारायण गोपाल सङ्गीतमय साँझ’’ को आयोजना  गरिएको थियो । यो कार्यक्रम      ‘‘जागृति युवा  सङ्घ’’ का सक्रिय कार्यकर्ता स्व. राजेन छेत्रीको नेतृत्वमा युवाहरूले खुबै मेहेनत गरेका थिए ।  मैले चाँहि १९८३ देखि भारतको पहिलो अनि निरन्तर चलेको नेपाली दैनिक ‘‘हिमालचुली’’ मा राजेश भट्टराईकै सहायक भएर प्रुफ रिडिङ्गको काम गरेको हुनाले पछिसम्मै सामाजिक अनि अरू कार्यक्रमतिर पनि म उनकै साथमा रहन्थें ।  त्यसैले यो कार्यक्रम गर्दा पनि म उनको नजीक रहेर काम गर्ने मौका पाएँ ।  उनले म अनि स्व. जीवन राणालाई नारायण गोपालको हेरचाह गर्ने अभिभारा सुम्पेका थिए ।  त्यसैले नारायण गोपाल सिलगढ़ी आइपुगेदेखि उनलाई गाड़ीबाट स्वागत गरेर होटल पुराउनु, त्यहाँ उनको देखरेख गर्नु, दीनवन्धु मञ्चसम्म पुराउनु, कार्यक्रम सकेपछि फेरि होटल पुराउनु, उनलाई तातो-चिसो हेरविचार गर्नु सम्पूर्ण काम हामीले खुबै ध्यानसित गर्ने मौका पायौं ।  
         हामीले सुनेका थियौं, नारायण गोपाल मादक पदार्थ पिउनुमा धेरै अनुभवी छन् भनेर ।  त्यसैले भट्टराईज्युकै आदेश अनुसार हामीले उनलाई ‘‘कुन पिउनुहुन्छ ?’’ भनेर सोधेका थियौं । 
      उनले त्यतिखेर भनेका थिए, ‘‘केही महीनाअघि म निकै विरामी परें, उपचारको क्रममा डाक्टरले पिउन बन्द गराएका छन् ।  त्यसैले आजभोलि मैले पिउन छाड़ेको छु ।’’
       हामी त्यस प्रसङ्गमा ढुक्क भयौं ।  सबै कुरा होटलको सेवकहरूले गरिहाल्थे हामीले उहाँलाई साथ मात्रै दिनु परेको थियो ।

       कार्यक्रम खुबै भव्यता र सफलताका साथ सम्पन्न भयो ।   मञ्चमा ओछ्याइएको कारपेटमा हारमोनियम राखी पलेटी कसेर बसेका थिए ।  दुइतिर उनका सहयोगी वाद्यवादकहरू बसेका तिए ।  दुइ पटक गरेर नारायण गोपालका दशवटा गीतहरूको रसपान गर्ने मौका पाए उनका गीत सुन्न तैँ छाड़् र मैछाड़् भएका प्रशन्सकहरूले ।  उनले त्यतिखेर भनेका  थिए, ‘‘भारतका मेरा आदरणीय श्रोता-दर्शवृन्द, यहाँहरूलाई मेरो सहृदय नमस्कार छ ।   म हजुरहरूको जुवाईं हुँ ।  मेरो ससुराली दार्जीलिङ हो । वास्तवमा मेरो  जीवनको मूल उद्देश्य नै गायन हो ।  म मेरो सम्पूर्ण तन-मनले यहाँहरूलाई मनोरञ्जनसहित सन्तुष्टि दिने प्रयासमा गीत गाउनेछु ।   तर मेरा गीतहरूलाई हजुरहरूले कुन तरीकाले सुन्नु हुन्छ, अनि हेर्नु हुन्छ, त्यसमाथि निर्भर गर्दछ । यसैले अब पहिलो गीत गाउन गइरहेछु, स्वीकार्नु होस् ।’’  भनेर उनले ‘‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा...........!’’ गीतबाट थालनी गरेका थिए ।  एकपछि अर्को गीतमा श्रोता-दर्शवृन्दले थप्पड़ी माग्दै ती गीतहरू दोहोराउन लाउँथे ।   तर कुनै गीत उनले दोहोराउन चाहेनन् ।
        त्यसपछि भक्तराज आचार्यले पनि  नारायण गोपालकै तरीकाले पलेटी कसेर हारमोनियम बजाउँदै गीत गाए ।
        यस कार्यक्रमको विशेषता के थियो भने दुवै बरिष्ठ गायकहरूले  पलेटी कसेर हारमोनियम बजाउँदै गीत गाएका थिए ।  यो कार्यक्रमभन्दा अघि ‘‘हरिभक्त कटुवाल प्रतिष्ठान’’ले आयोजना गरेको कार्यक्रमसम्म पनि नेपालीभाषी कलाकारहरूले उभेरै कार्यक्रम  प्रस्तुत गरेको देखेका थिए त्यस भवनका बङ्गलाभाषी कर्मचारीहरूले ।   तर यो कार्यक्रममा पलेटी कसेर हारमोनियम बजाउँदै गीत गाएको देखेर ती कर्मचारीहरू पनि सोच्न वाध्य भए कि वास्तवमा यो समाजका कलाकारहरू पनि यस्ता उच्चकोटिका हुँदा रहेछन् ।  वास्तवमा नै उच्चकोटिका कलाकारद्वयले अन्यभाषीको मनमा पनि  श्रद्धा बड़ाइदिए ।  ती कर्मचारीहरूले यतिसम्म भने, ‘‘हामीले हिन्दी अनि बङ्गला कार्यक्रमहरू पनि देख्यौं, तर यतिको घउइँचो र भव्य कार्यक्रम पहिलोपटक हेर्नो मौका पायौं ।’’   यसैले यो कार्यक्रम ऐतिहासिक हुन गएको थियो । 
      कार्यक्रम गोर्खा शिवालयको सहयोगार्थ आयोजन गरिएको हुनाले प्रवेश शुल्क लगाइएको थियो ।   त्यतिखेर टिकटको मूल्य २०/-, ३०/- र ५०/-  रुपियाँ राखिएको थियो ।   यद्यपि सम्पूर्ण खर्च काटेर पनि त्यतिखेर सात हजार रुपियाँ बचेको थियो ।   त्यो पैसाले गोर्खा शिवालयको वरिपरी ईंटा र सिमेन्टको बार लगाइयो भने सयवटा कुर्सी अनि टेबल पनि किनियो ।  अझै बचेको पैसाले ‘‘नारायण गोपाल सङ्गीतमय साँझ’’को लागि काम गर्ने ‘‘जागृति युवा सङ्घ’’का युवाहरूलाई वनभोज लैजान पनि पुगेको थियो ।  किनभने आजभन्दा बत्तीस वर्षअघि सात हजार रुपियाँको महत्व धेरै थियो, समानहरू पनि सस्ता थिए ।  यी सबै काम-कुराहरू गर्न ‘‘नारायण गोपाल सङ्गीतमय साँझ’’ बाट उठेको रकमले सम्भव भएको थियो । 
     त्यो कार्यक्रम सम्पन्न गरेको चार वर्षपछि ५ दिसम्बर १९९० को दिन  नारायण गोपाल पनि दिवङ्गत भए ।  यसरी नै यो कार्यक्रम जसको नेतृत्वमा युवाहरूले खुबै मेहेनत गरेका थिए-  ‘‘जागृति युवा सङ्घ’’का सक्रिय कार्यकर्ता स्व. राजेन छेत्री पनि १० नवम्बर१९९० को दिन दिवङ्गत भए ।  क्रमशः नारायण गोपालको हेरचाहमा मसित खटिएका जीवन राणा पनि दिवङ्गत भइसकेका छन् ।  तर  यो कार्यक्रम ‘‘नारायण गोपाल सङ्गीतमय साँझ’’को सम्झना भने मेरो मनभित्र आलै भएर बसेको छ ।।




Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन