कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ? --स्नेहलता राई
सेवाबाट अवकाश पाए पनि
जिन्दगीले यस संसारबाट
अवकाश नपाएसम्म
कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ?
हो ! सेवा अवकाशपछि पनि
जिन्दगीका शेष यात्रालाई
जिन्दगीका हर क्षणहरूलाई
जिन्दगीका प्रत्येक पलहरूलाई
लक्ष्यहीन, उद्देश्यहीन र मूल्यहीन भनी
सम्झौता नगरौं,
आफैलाई फगत रित्तिएको बोतल नठानौं।
रित्तिएको बोतल नै भए पनि
अमृत भर्न त नसकौंला
तर ‘समाज सेवा’ र ‘कर्मयोग’ का
शरबत घोलेर भरौं।
विश्राम चौतारीमा, हजुर एकैक्षण सुस्ताऔं
थकित कायामा
कर्तव्य ऊर्जाको ताप लगाऔं।
अर्जुनले महाभारतको युद्धमा
थामेको लगाम झैं
पथभ्रष्टहरूका लगाम हातमा समाऔं
यही लगाम समाएर समाजमा
सत्यको पाठ सिकाऔं,
‘कर्म’ र
‘धर्म’ भनी जनाऔं।
बार्दलीमा बिसाएर
वृद्धपनको वर्णन नगरी
अशक्तता र निराशाको निश्वास नछोडी
सदाचार धर्म र न्यायको
अवहेलना गर्ने समाजमा
शक्ति बनेर, न्यायको पक्षमा
वृद्धपनको आभास हुन नदिई
जति सक्छौं अघि बढौं
बाटो देखाऔं।
किनकि जिन्दगी घाम
अस्ताचल पुगे पनि
हामी अझै समस्याहरूको मध्याह्नमा नै छौं।
यसैले हजुर !
सेवाबाट अवकाश पाए पनि
जिन्दगीले यस संसारबाट
अवकाश नपाएसम्म
कर्तव्यको चक्र
कहाँ अन्त हुन्छ र ??
***
Comments
Post a Comment